Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राहुल गान्धीको ‘बाबु र काकाकै शैली’, गृह मन्त्रालय र सुरक्षाकर्मी तनावमा 

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौंमा छन् । उनको यो भ्रमण निजी भनिए पनि यसको पूर्व जानकारी नहुँदा यतिबेला गृह अधिकारी र सुरक्षाकर्मी तनावमा छन् । 

 

झनै, राहुल आफ्ना पिता भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धी र काका सञ्जय गान्धीकै शैलीमा बिन्दास भएर हिँड्दा तनाव थपिएको छ । उनका पिता राजीव गान्धी भारतीय गुप्तचर संस्थाहरुले नजान भनेको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । जहाँ आत्मघाती बम बिस्फोट गराएर उनको हत्या गरिएको थियो । 

 

यस्तै उनका काका सञ्जयलाई समेत घटनाका दिन विमान नउडाउन भन्दाभन्दै उनले नमान्दा विमान दुर्घटनामा मृत्यु भएको थियो । राहुलकी हजुर आमा इन्दिरा गान्धीको समेत भारतमा हत्या गरिएको थियो । 

 

राहुल, भारतमा प्रमुख प्रतिपक्ष कांग्रेस र गान्धी परिवारका सदस्य हुन् । उनी भारतका ती सीमित नेतामध्ये एक हुन, जसको सुरक्षा चासो विशेष रहने गर्छ । तर, राहुलको नेपाल भ्रमण, उनको भ्रमण तालिका र उनका साथमा रहने व्यक्तिहरुका विषयमा पूर्व जानकारी नहुँदा गृह मन्त्रालयका अधिकारी र प्रहरी प्रधान कार्यालय अन्योलमा परेको छ । 

 

गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार यतिबेला राहुलको सुरक्षाका लागि काठमाडौं उपत्यकाका सबै युनिटलाई अर्लट पोजिशनमा राखिएको छ । यस्तै, प्रहरी प्रधान कार्यालयले विशेष ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सादा पोशाकमा प्रहरी खटाएको छ । यस्तै राहुल पुग्ने स्थानको जिम्मेवार युनिटलाई त्यहाँको सुरक्षा प्रबन्धका लागि भनिएको छ । 

 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राहुल गान्धी सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा भिस्तारा एयरको विमानबाट अवतरण गरेर आएपछि विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकाल नै चकित भएका थिए । उनले तत्काल यसको जानकारी महानिरीक्षकको सचिवालय र महानगरीय प्रहरी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी बस्ने होटल मरियट र उनी जानसक्ने सम्भावित स्थानमा रेकी र निगरानी सुरु भएको थियो । 

 

राहुल सोमबार राति अचानक आफ्ना केही नेपाली तथा भारतीय साथीहरुका साथ ठमेलस्थित एउटा रात्रीकालीन क्लबमा पुगेका थिए । यसअघि उनको सुरक्षामा खटिएका प्रहरी अधिकृतका अनुसार राहुललाई सुरक्षाकर्मी लिएर हिँड्न मनपर्दैन । उनी आफ्नै तरिकाले घुम्न तथा हिँडडुल गर्न रुचाउँछन् । 
यस्तै राहुल यो भ्रमणका बीच यसपटक लाजिम्पाटस्थित भारतीय राजदूतावासमा समेत जानसक्ने सुरक्षा स्रोतले जनाएको छ । 

 

तर, गृह प्रशासनले राहुलले यसो भन्दैमा उच्च सुरक्षा जोखिम रहेका उनको सुरक्षामा कुनै चुक नरहोस भन्नेमा पूर्ण सतर्कता अपनाएको जनाएको छ । 
राहुल यसपटक आफ्ना पुराना मित्र सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । वैशाख २२ मा बौद्धस्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ । राहुल यसअघि २०१८ मा कैलाश मानसरोवर जान काठमाडौं आएका  थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै