
बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा छन् ।
गत कात्तिक १६ गते भक्तपुर सूर्यविनायक–६ गणेश मन्दिर नजिकबाट विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनेर विश्वास दिलाई ग्याल्छेन र वीरबहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ग्याल्छेन र वीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit