Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

विद्युत प्राधिकरणको मालसामान निगमको जहाजमार्फत् ढुवानी गर्ने

नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो । सोमबार सिंहदरवारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौंतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ ।

 

 

कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौंता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरेका छन् । 

 

 

‘हामीले प्राधिकरण मात्रै नभएर प्राईभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरुको सरसामान ओहोरदोहोर गर्दा पनि हामीले नै पाउनेछौं । यो एउटा प्रशंशनीय काम भएको छ । यसका निमित्त आदरणीय कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्षज्यूलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु । र सम्पूर्ण उच्च पदस्थ कर्मचारीहरुलाई निगमकै जहाज प्रयोग गरिदिन हुन अनुरोध गर्न चाहन्छु’ उनले भने ।

 

 

कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनु भएको थियो । यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौंतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौंताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै