Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नाडाको नेतृत्वका लागि ध्रुव थापाद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

 

बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको बताएका छन् । उनको प्यानलले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नारासहित विभिन्न स्थानमा रहेका अटो मोबाइल्स व्यवसायीहरुसँग छलफल समेत गरेको उनले बताएका छन् ।

 

उनले राज्यले नाडाले उठाएर लगेका कुराहरु सरकारले गम्भीरताका साथ नलिएको भन्दै आपत्ति जनाएका छन् । उनले व्यवसायको सम्भाव्यता अध्ययन गर्न नाडाले लगानी गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसको लागि विज्ञ टोली नै निर्माण गरेर अध्ययन गर्ने, तथ्यांक संकलन गर्ने र सरकारलाई यो क्षेत्रको महत्त्व र आवश्यक्ताको विषयमा बुझाउने बताएका छन् । उनले प्रदेशस्तरमा खुलेका संस्थालाई अधिकार सम्पन्न गर्ने, स्थानीय तहमा रहेका समस्या समाधानमा जुट्न सक्ने बनाउने र अटो क्षेत्रका कतिपय कर प्रदेश सरकारले लगाइरहेको भन्दै त्यसलाई नागरिक मैत्री बनाउन आफू निर्वाचित भइसकेपछि काम अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।

 

‘अहिले नाडाले लगेका विषयलाई राज्यका संयन्त्रको सुन्ने गरेको भएपनि व्यवहारिक रुपमा हाम्रा माग सम्बोधन हुन सकेको छैन । स्पेशल अटो जोन, बैंकले दिने अटो पर्जाको सीमा, अटो उद्योग निर्माण र इन्सीलरी उद्योग स्थापना जस्ता विषयमा सरकारले रोड म्याप तयार गरेर अगाडि बढ्न सकेमात्र नेपालमा अटो मोबाइल फस्टाउँछ, त्यो रोडम्याप निजी क्षेत्रले बनाएर त्यसमा राज्यलाई कन्भिन्स गर्नुपर्ने हो । सरकार र निजी क्षेत्रबीच समन्वय भएपछि मात्रै व्यवसायी मैत्री वातावरण निर्माण हुन्छ’ उनले भने । 

 

‘व्यवसायको सम्भाव्यता अध्ययन गर्न पनि नाडाले लगानी गर्नुपर्ने अवस्था छ । त्यसको लागि विज्ञ टीम नै निर्माण गरेर अध्ययन गर्ने, तथ्यांक संकलन गर्ने र सरकारलाई यो क्षेत्रको महत्व र आवश्यक्ताको विषयमा बुझाउन काम गर्ने योजना बनाएका छौँ । हाम्रा प्रदेशस्तरमा खुलेका संस्थालाई अधिकार सम्पन्न गर्नुपर्ने देखिन्छ, स्थानीय तहमा रहेका समस्या समाधानमा जुट्न सक्ने बनाउने काम पनि हाम्रो नेतृत्वले गर्नेछ । अहिले अटो क्षेत्रका कतिपय कर प्रदेश सरकारले लगाइरहेको छ, त्यसलाई नागरिक मैत्री बनाउन पनि नाडाले काम गर्नेछ’ उनले भने ।

 

उनले अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको दाबी पनि गरेका छन् । उनको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बि. एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल,  नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान र महिला प्रतिनिधिमा यमुना श्रेष्ठ रहेका छन् । 

 

नाडाको नयाँ नेतृत्वका लागि आगामी मंसिर २३ गते काठमाडौंमा हुने निर्वाचनमा हाल नाडाको उपाध्यक्ष रहेका करण चौधरीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै