Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

स्वतन्त्र कस्मिरका अभियन्ता गिलानीको निधन 

अभियन्ता तथा पूर्व सांसद शैयद अलि शाह गिलानी । तस्बीर सौजन्यः कस्मिर मिडिया सर्विस

कास्मिरका पृथकतावादी नेता शैयद अलि शाह गिलानीको श्रीनगरस्थित आफ्नै घरमा ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ । भारतीय शासन विरोधी अभियन्ता गिलानी लामो समयदेखि विरामी थिए । विगत ११ वर्षदेखि उनलाई आफ्नै घरमा नजरबन्दमा राखिएको थियो।

 

कास्मिरको मुख्य शहर श्रीनगरमा गिलानीको घर नजिकै भारतीय अधिकारीहरुले कडा सुरक्षा घेरा बनाएका छन्। हाल कास्मिरमा सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाइएको छ र कफ्र्यु लगाउन सक्ने सम्भावना रहेको बताइएको छ।

 

बिहीबार बिहानै उनको अन्तिम संस्कार गरिएको छ। भारत प्रशासित कस्मिरी क्षेत्रमा तनाव बढिरहेका बेला यस्तो गरिनुलाई सामान्य भएको र इन्टरनेटबाट फैलिने सम्भावित अफवाहहरुलाई रोक्न यस्तो कदम चालिएको भारतीय प्रशासनले बताएको छ।

 

विशेषगरी मुस्लिम समुदायको बाहुल्यता रहेको कस्मिरका छुट्टाछुट्टै स्थानहरुमा भारत र पाकिस्तानको नियन्त्रण छ। तर, दुवै देशले कस्मिरलाई पूर्ण रुपमा आफ्नो भएको दाबी गर्दै आएका छन्। भारत नियन्त्रीत क्षेत्रमा पृथकतावादी आन्दोलन भइरहेकाले विगत तीस वर्षदेखि यहाँ हिंसाको वातावरण छ।

 

गिलानी भारतमा एक पृथकतावादी नेताका रुपमा चिनिन्छन्। जानकारहरुका अनुसार उनले सधैँ कास्मिरको स्वतन्त्रताको वकालत गरे। तर, उनले व्यक्तिगत रुपमा कस्मिरलाई पाकिस्तानमा गाभ्न चाहेको आरोप लाग्दै आएको छ। भारतका कस्मिरी नेताहरु र पाकिस्तानका राजनीतिज्ञहरुले उनलाई श्रद्धान्जली दिएका छन्।  कस्मिरका पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तिले गिलानीको निधनले निकै मर्माहत बनाएको बताएकी छन्।

 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानी ‘स्वतन्त्रता सेनानी’ भएको बताउँदै बिहीबारलाई आधिकारीक रुपमा शोकको दिन घोषणा गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘गिलानीले आफ्नो जनताको आत्मनिर्णयको अधिकारका लागि आफ्नो जीवनभर संघर्ष गरेका थिए।’

 

कस्मिर प्रहरीले गिलानीका नजिकका नातेदारहरुलाई मात्रै उनको अन्तिम संस्कारमा सहभागी हुन दिएको छ। गिलानीको मृत्युपश्चात उनको घर नजिकैको मस्जिदबाट स्थानीयहरुलाई त्यसतर्फ जान भनिएको थियो। तर, अहिले भारतीय सेनाका हतियारसहितका गाडीहरु सडकमा तैनाथ गरिएका छन् र प्रहरीले स्थानीयलाई घरभित्रै बस्न भनेको छ।

 

करिब १५ वर्षभन्दा बढी समय गिलानी कस्मिरका सांसद थिए। सन् २०१९ मा मोदी सरकारले गिलानीको धार्मीक तथा राजनीतिक संगठन  जम्मत–आइ–इस्लामीमाथि प्रतिबन्ध लगाएको थियो। कस्मिरको स्वतन्त्रताका लागि अभियान चलाएपछि सन् १९६२ मा उनलाई पक्राउ गरी दश वर्ष जेल सजाय दिइएको थियो। उनले लामो समय जेलमा बिताएका थिए।

 

गिलानीले करिब दुई दर्जनभन्दा बढी पृथकतावादी पार्टीहरुको छाता संगठन अल पार्टी हुर्रियात कन्फेरेन्सको एउटा समूहको नेतृत्व गरेका थिए। तर, अरुले आफ्नो नेतृत्वविरुद्ध विद्रोह गरेको आरोप लगाउँदै सन् २०२० मा उनले सो नेतृत्व छाडेका थिए।

 

गिलानी भारतसँगको कुनै पनि किसिमको वार्ताको कडा विरोधीका रुपमा परिचित थिए। उनले भारतसँग वार्ता गर्नुभन्दा पहिले कस्मिरी जनता भारतमा रहन चाहन्छन् कि चाहाँदैनन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्नेमा सधैँ जोड दिए। 

 

यसले भारतसँग वार्ता गर्नुपर्नेमा सकारात्मक उनका युवा सहकर्मीहरुसँग उनको द्वन्द बढाएको थियो। सन् २०२० मा पाकिस्तानले गिलानीलाई नागरिकलाई दिइने सबैभन्दा ठूलो सम्मान, निसान–इ–पाकिस्तानले सम्मान गरेको थियो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै