
लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसद हस्ताक्षर बुझाएको छ । नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी स्वनामलाई प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले आज प्रदेश प्रमुख कार्यालय पुगेर हस्ताक्षर बुझाएका हुन् ।
विपक्षी गठबन्धनले पोखरेललाई हटाएर संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरेको छ । मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को धारा १ अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सरकारमा सहभागी आफ्ना तीन सांसदलाई कारबाही र प्रदेशसभाले पदमुक्त गरेपछि सरकार अल्पमतमा परेको छ ।
त्यसैले वर्तमान प्रदेश सरकार बहुमतमा नरहेकाले नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनुपर्ने विपक्षी गठबन्धनले माग गरेको हो ।
हाल लुम्बिनी प्रदेश सभामा ८० सदस्य छन् । बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । सांसद पद गुमाएका जसपाका तीन नेता सर्वोच्च अदालत जाने तयारीमा छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit