
सत्ता गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रले सरकारमा पार्टीबाट मन्त्री बन्नेहरुको ‘सर्टलिस्ट’ तयार गरेको छ । मन्त्री आकांक्षी दर्जनौं नेतामध्ये १२ जनाको नामावली तयार गरिएको माओवादी स्रोतले जानकारी दिए ।
माओवादीमा धेरै नेताहरु मन्त्री बन्न आकांक्षी हुँदा पार्टी नेतृत्वलाई अप्ठ्यारो परेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त सार्वजनिक रुपमा नै आफ्नो निकै दबाबमा रहेको बताएका थिए ।
माओवादी स्रोतका अनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेल, देव गुरुङ, हरिराज अधिकारीको नाम सूचीमा परेको छ । यस्तै, अमनलाल मोदी, शिवकुमार मण्डल, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ र सुदन किराती पनि सूचीमा परेका छन् ।
माओवादीबाट यसअघि नै जनार्दन शर्मा र पम्पा भुसाल मन्त्री बनिसकेका छन् । माओवादीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने तय गरिसकेको छैन ।
पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ वा पछिल्लो समय उच्च अदालतबाट पनि सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भन्नेबारे अन्योल छ ।
मन्त्री छान्नका लागि भनेर आज बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटीको बैठक भने स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित भएको माओवादीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit