Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।  

 


दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको बताएका हुन्।

 

मोदीले यस किसिमको सम्बन्ध विश्वका अन्य मुलुकमा नदेखिएको पनि बताएका छन्। भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने, ‘अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।’

प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । नेपाल र भारतका नागरिलाई नवरात्रको शुभकामना पनि व्यक्त गरे। 


नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका पुराना मित्र रहेको बताउँदै मोदीले दुई मुलुकको सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन देउवाले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरेका थिए। 

 

नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि मोदीले बताए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएको उल्लेख गरे। 

 

दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उनले दोहोर्‍याए । नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवर्धनमा भारतले सघाउने, नेपालले झेल्नुपरेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताउँदै उनले आजदेखि सञ्चालनमा आएको जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गरे। भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस् भन्नेतर्फ आफूहरू सचेत रहेको बताए। 

 

धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामायण परिपथको विकास, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने पनि मोदीले बताए। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै