
नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी. फुलरले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित सङ्क्षिप्त समारोहमा हस्ताक्षर गरे ।
दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेको नेपालको स्थायी नियोगले जनाएको छ ।
त्यस अवसरमा राजदूतद्वयले दुई देशको पारस्परिक हितका लागि विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउने तथा साझा हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए ।
संयुक्त अधिराज्य बेलायतबाट २१ सेप्टेम्बर १९८१ मा स्वतन्त्र भएको बेलीजले त्यसको चार दिनपछि संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit