Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमसीसीबारे यस्तो छ नेताहरुको प्रतिक्रिया 

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् । 

 

 

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको निष्कर्षपछि समाप्त हुने बताएका छन् । उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताएका छन् । महासचिव भुसालले एमसीसी बारेका ९ वटा दस्ताबेजको बारेमा कार्यदलले गम्भीर अध्ययन गरिरहेको  पनि बताएका छन् ।

 

 

उनले एमसीसी स्थानीय निर्वाचनको एक एजेण्डा भएको भन्दै चुनावको सबै एजेण्डा एमसीसी मात्रै भएको तर्क गर्नु नहुने बताएका छन् । उनले एमसीसीले देशलाई फाइदा नगर्ने हो भने पास गर्नु नहुने भन्दै एमसीसीको सबै दस्ताबेजहरुको बारेमा कसैले पनि पूरा अध्ययन नगरेको बताएका छन् ।

 

 

‘गठबन्धनको मात्रै होइन, भविष्य कसैको पनि भन्न सकिँदैन । भविष्य वक्ताहरुले गरेको भविष्य पनि काम लाग्दैन । अहिलेको आजको स्थिति भन्ने हो भने चुनावको विषयलाई लिएर कुनै पनि खालको विवाद गठबन्धनमा भएको छैन । हामीले सहमतिमा नै स्थानीय तहको चुनाव जेठमा गरौँ भनेर टुंगो गरेका हौँ । एमसीसीको बारेमा केही मतभेदहरु छन् । त्यसमा हामी अहिले पनि अध्ययनमा छौँ । एमसीसीसँग सम्बन्धित ९ वटा दस्ताबेज दुई, तीन महिना अघि मात्रै हामीले गठबन्धनबाट बनाएको कार्यदलले प्राप्त गरेको छ’ उनले भने ।

 

 

‘अहिले ती दस्ताबेजहरु अध्ययन गर्दै हुनुहुन्छ । त्यो अध्ययनपछि उहाँहरुले एउटा निस्कर्ष ल्याउनुहुन्छ । त्यसै अनुसार हामी जान्छौँ । एमसीसी एउटा चुनावी एजेण्डाको विषय हो । त्यो मात्रै चुनावको विषय हुन्छ जस्तो लाग्दैन । सिधै समर्थन र बिरोध भन्दा पनि हामीले खासमा अलि गहिरो गरेर यसको अध्ययन गरौँ भन्ने हो । यसले राष्ट्रलाई फाइदा छ कि बेफाइदा छ ? फाइदा भए गर्ने हो बेफाइदा भए किन गर्ने ? अहिलेसम्म साँच्चै भन्ने हो भने सबै दस्ताबेज त कसैले अध्ययन गरेकै छैन । जसले पक्ष वा विपक्षमा बोलेको छ । ती ९ वटा दस्ताबेज त अहिले न बाहिर आए । ९ वटा रहेछन् भन्ने कुरा पनि बल्ल जानकारी भयो । अ? पनि छन् कि थाहा छैन, यस्तै भएको कारणले यो विषय अलि पेचिलो बन्दै गएको हो’ उनले भने ।

 

 

त्यस्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विदेशी सहायताको क्षेत्रमा मुलुकले र नेतृत्वले राष्ट्रिय हित अनुकुल छ वा छैन भन्ने कुराको सुक्ष्म विश्लेषण गर्न आवश्यक रहेको बताएका छन् । उनले एमसीसी संसदमा पठाएर मात्रै पास हुने भएकोले त्यस बारेमा राष्ट्रको हितअनुसार काम अघि बढाउनु पर्ने बताएका छन् ।

 

 

‘चाहे परराष्ट्रनीतिमा होस्, विशेष गरी विदेशी सहायताको क्षेत्रमा मुलुकले, नेतृत्वले कदम चाल्दा, के गर्नुपर्छ भन्ने, कुनै चिज प्राप्त हुन गयो मुलुकलाई भने त्यो राष्ट्रिय हीत अनुकुल छ कि छैन भनेर त्यसको सुक्ष्म विश्लेषण हुनुपर्छ । एमसीसीलाई पनि हामीले हेर्दा, जुनै कुरालाई पनि चाहे चीनले दिएको होस्, चाहे हिन्दुस्थानले दिएको होस्, चाहे अमेरिकाले दिएको होस्, त्यो दिएको चिज राष्ट्रिय हीत अनुकुल छ कि छैन, हीतमा पार्ने कसरी भनेर जाँचेर गर्नुपर्छ । संसदमा नपठाइ किन पास नै हुँदैन अहिलेको व्यवस्था अनुसार । एमसीसीको प्रवन्ध अनुसार संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । त्यसैले सरकारले आफूले पेश गर्दा यो कसरी राष्ट्रिय हित अनुकुल हुन्छ भनेर पेश गर्नुपर्छ । संसदले त्यसलाई चिरफार गरेर, विश्लेषण गरेर त्यो हो कि होइन भनेर जाँच्नुपर्छ’ उनले भने ।

 

 

उनले एमसीसीलाई संसदले गम्भीर अध्ययन गरेर अघि बढ्न सके देशको हित हुने बताएका छन् ।
 

प्रतिक्रिया

117
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै