
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ ।
प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।
आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेदवार रहेका छन् । उनले कास्की कांग्रेसमा १७ वर्षसम्म सभापतिका रुपमा काम गरिसकेका छन् । २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षको पुगेका छन् । यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिएका थिए । यद्यपी उनले सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गरिरहेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेद्वारी दिएका उनले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताएका छन् ।
त्यस्तै, कास्कीबाट नै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै नेता हुन् । उनले विद्यार्थी कालदेखि राजनीति शुरु गरेका थिए भने बौद्धिक नेताका रुपमा परिचित पनि रहेका छन् । तर उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्नुका साथै गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । सभापतिको उम्मेद्वार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताएका छन् ।
त्यस्तै, तनहुँबाट सभापतिको उम्मेद्वारी घोषणा गर्नुभएका रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधरका नेता हुन् । तनहुँका पुराना नेता उनले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् । उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशीर्वाद रहेको बताएका छन् । उनले काँग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताएका छन् ।
प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । उनीसँग काँग्रेसका केन्द्रीय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ । उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेको छन् । गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचान राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको उनको भनाइ छ ।
कांग्रेसको परिवर्तित तालिका अनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । कांग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो कांग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन् । उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्ने छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit