Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा, घाेडसवार प्रतियाेगितामा यी सैन्य अधिकारी भए उत्कृष्ट

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसिका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ ।  सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति भइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो । 

 

नेपाली सेनाका तर्फबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन पनि गरेको थियो । त्यस्तै सेनाले साइकल रेश, टांगन घोडा दौड, शो जम्प, चार्र्जर घोडा दौड, क्याभ्लरी ड्रिल राइड, टेण्ड पेगिङ्ग लगायतका कार्यक्रम गरेको थियो । 

 

 

घोडे जात्राका अवसरमा सेनाले  आयोजना गरेको विभिन्न घोडसवार प्रतिस्पर्धामा   म्युजिकल राईडमा प्रथम घोडसवार उप सेनानी श्रीमद सिल्वाल  र द्वितीय सह सेनानी प्रविन लामिछाने, शो–जम्पमा प्रथम अमल्दार लिलाराम खड्का र द्वितीय प्युठ रोशन कुमार श्रेष्ठलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरिन् । यस्तै अन्य विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल व्यक्तिहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले नगद पुरस्कार प्रदान गरेका थिए । 

 


जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र राक्षसबाट पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर  ऊक्त राक्षसलाई संहार गरेको किंवदन्ती प्रचलित छ । 

 

तर पनि राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहेको छ । 

 


शहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने हेतुले आज राति नै त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । त्यसो गर्नाले वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास रही आएको छ । 

 


समारोहमा उप राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, कामु प्रधान न्यायाधिस, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, राजदुतहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्‍न विदेशी दुतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, सञ्‍चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै