Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भ्रष्टाचारको आशंका गरिएको साग खेलकुदको यस्तो छ खर्च र आम्दानी विवरण 

सागकाे उद्घाटन सत्र ।

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भ्रष्टाचार भयो भन्ने आशंकालाई चिर्दै राष्ट्रिय खेलकुद परिषद्ले खर्च तथा आम्दानीको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । 


राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आइतबार सार्वजनिक गरेको हो । 


प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो । 


पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ ।

यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले बताए । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोड बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि बताए । 

 

सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिएपनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको जानकारी पत्रकारहरुलाई गराएका थिए । 


गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड—१९ र सागमा सहभागि राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागि राष्ट्रहरुको ओलम्पिक कमिटिबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनको दाबी थियो । 

 

सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ भने फ्रिज भएको छ । 


नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो । यस्तै टिकट विक्रिबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ र सहभागि राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए ।


साग प्रतियोगिताको उद्घाट र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८०४ रुपैयाँ खर्च भएको विवराण राखेपले सार्वजनिक गरेको छ । 
यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६८३ रुपैयाँ खर्च भएको छ ।

 

खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ । 


यस्तै सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रुपैयाँ खर्च भएको छ । 


१४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएपनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन् ।

 

पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि सिलवालले पत्रकार सम्मेलनमा जानकारी गराए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै