Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

संसद भंग गरेर निर्वाचन घोषणा गरिएसँगै कांग्रेसको आकस्मिक बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक शनिबार बिहान बस्न लागेको छ । 

 

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्ने जानकारी दिए । 

 

राष्ट्रपति विद्या भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

 

मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको थियो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएकी थिइन् । 

 

तर त्यसबेलासम्म परेका दुवै दावी खारेज गर्दै राष्ट्रपतिले मन्त्रीपरिषद्को सिफारिसमा संसद भंग गरेकी हुन् । 

 

राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरुले विरोध गरेका छन् ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गर्नु  सरकारका लागि महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए । 

 

उनले लेखेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो  । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।​' 

 

कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन’, उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै