Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

संवैधानिक परिषद्को बैठक स्थगित

फाइल तस्बिर


बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका थिए ।

 

यसअघि ३० मंसिरमा परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ४५ जना पदाधिकारी सिफारिस गरेको थियो । उक्त सिफारिस पुस ५ गते सार्वजनिक गरिएको थियो ।

 

उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी भएका थिएन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् ।

 

गणपूरक संख्या नपुग्ने भएपछि प्रधानमन्त्री ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ ।

 

यो अध्यादेशअनुसार संवैधानिक परिषद्मा तीन जना उपस्थित भएर पनि निर्णय गर्न सकिनेछ । सोहीअनुसार प्रधानमन्त्री ओलीले यसअघि संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेका थिए ।

 

बैठकले नियुक्तिको सिफारिस गरेका पदाधिकारीको संसदीय सुनुवाइका लागि संसद सचिवालयमा पठाइएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले आइतबार सिफारिस पत्र फिर्ता पठाएका छन् । 

 

संसद विघटन भएकाले संसदीय सुनुवाइ गर्न नसकिने लगायत कारण देखाउँदै उनले पत्र फिर्ता पठाएका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ति जनाएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै