
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धितो मूल्यांककर्ता समेतको मिलेमतोमा उनीहरुले कर्जा दुरुपयोग गरेको अख्तियारको भनाइ छ । अख्तियारले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दामा बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षत्री, उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ताविरुद्ध एक करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
उनीहरूमाथि किर्ते कागजातको मूल्यांकन गरी ऋण प्रवाह गरेको आरोप छ । धितो मूल्यांकनकर्ता कर्णबहादुर केकेमाथि एक करोड २५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्यितारका प्रवक्ता तारानाथ अधिकारीले जनाए ।
यस्तै, ऋण लिने रिजवान अहमत जसगढ, सकिना जसगढ र फहमिदा बानो जसगढविरुद्ध ७५ लाखदेखि एक करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit