Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

अस्ट्रेलियामा तुलाधर, कोरियामा शर्मासहित ११ देशका लागि राजदूत सिफारिस

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधर

सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।

 

गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो ।

 

सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समेत हुन् । उनी बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी निर्देशक समेत रहेकी छिन् ।

 

यस्तै सरकारले दक्षिण कोरियाका लागि त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाईं राजदूतमा सिफारिस गरेको छ ।

 

उनीहरुसहित सरकारले श्रीलंका, अस्ट्रिया, इजिप्ट, रुस, म्यान्मार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि ११ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो ।

 

सिफारिस गरेका नाम नै संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालय पठाइएको छ । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पास भएमा बढीमा एक महिनाभित्र नियुक्ति प्रक्रिया सुरु हुन्छ ।

 

श्रीलंकाका लागि तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल, अस्ट्रियाका लागि परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ राजदूतमा सिफारिस भएका छन् ।

 

यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता एवं काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत जंगबहादुर (जंगब) चौहान, म्यान्मारका लागि झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला र बहराइनका पूर्वमन्त्री युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरेबियाका लागि मेराज मुसलमान राजदूतमा सिफारिस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै