Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सरकारद्वारा १३६ विदेशी निष्कासित, सबैभन्दा धेरै चिनियाँ


पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।     

 

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए । उनका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसूरका धेरै छन् । 

 

विभागको तथ्यांकअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले जानकारी दिए ।     

 

विभागको तथ्यांकअनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ । आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो ।     

 

आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७०० लाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ । यस्तै ७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनाालाई आश्रित भिसा जारी गरिएको छ । 

 

विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर रु ४२ करोड २६ लाख २९ हजार राजस्व संकलन गरेको छ ।     
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै