
भरतपुर अस्पतालमा एक वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।
एक वर्षमा प्राडा कृष्ण पौडेल सातौँ मेसु भएका छन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।
गत वर्षको भदौ २८ मा डा. श्रीराम तिवारीलाई सरुवा गरेर डा. राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मंसिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भए । त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।
झण्डै दुुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्राडा पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो ।
मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।
यो संघीय अस्पताल हो । छ सय शै्ययाको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit