
दाङस्थित देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिना गरेको भन्दै राप्ति गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए ।
सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै सहकारी सदस्यहरूले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाई अदालतमा मुद्दा दायर गरेका थिए । २५ जनामध्ये फरार २० जनालाई पक्राउ गरेर अदालतमा पेस गर्न आदेश जारी भएको हो ।
यसअघि सहकारी संस्थाका चार जना कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ । एक जना कर्मचारीकी श्रीमतीलाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ ।
गाउँपालिकाका अध्यक्ष सुवेदी महाप्रभु बचत तथा ऋण सहकारीको लेखासमिति हुँदा उक्त सहकारीसँग गरेको कारोबारमा रकम हिनामिना गरेको आरोप लगाइएको छ । ध्यक्ष सुवेदीले आफैं अदालतमा उपस्थित हुने र सत्यतथ्य अनुसन्धानमा सघाउने बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit