Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आज पाकिस्तानको राष्ट्रिय दिवस, यस्तो छ इतिहास


नेपालस्थित पाकिस्तान दूतावासले आज पाकिस्तानको राष्ट्रिय दिवस मनाएको छ । सो अवसरमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले दूतावासस्थित पाकिस्तानको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए ।

 

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्री सन्देश सुनाइएको थियो । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भिले पाकिस्तानलाई अझै आर्थिक रुपमा बलियो र समृद्ध देश बनाउने प्रतिबद्धता व्यक्त गरे । 

 

त्यस्तै, मानवीय, समावेशी र पाकिस्तानमा बस्ने अन्य अल्पसंख्यकप्रति सहिष्णुताको वातावरण बनाउन काम गरिरहने पनि उल्लेख गरे । यस अवसरमा उनले कश्मिरवासीलाई पनि स्मरणको गरेको जनाएका छन् । 

 

भारतीय सुरक्षाकर्मीद्वारा सात दशकदेखि अधीनमा लिँदा कश्मिरवासीले दमन भोग्नुपरेको भन्दै राष्ट्रपति अल्भिले उनीहरुको संघर्षमा पाकिस्तानको सधैं साथ रहने जनाए । उनले कोभिड–१९ को क्रममा स्वास्थ्य सेवा दिन संलग्न स्वास्थ्यकर्मीको पनि प्रशंसा गरे । 

 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानलाई समृद्ध राज्य बनाउँदै कानुनी शासन, समतावाद लागू गर्ने प्रतिबद्धता व्यक्त गरे भने जम्मुकश्मिरवासी आत्माधिकारको निर्णयका लागि सधैं पाकिस्तानले साथ दिने जनाए ।

 

कार्यक्रममा राजदूत शाहले सन् १९४० मा मुस्लिम समुदायले नयाँ घरको रुपमा पाकिस्तान बनाउन दिएको योगदानको चर्चा गर्दै आफ्ना पूर्वजहरुले चाहेको पाकिस्तान बनाउन सधैं लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

 

उक्त कार्यक्रम नेपाल सरकारको पछिल्लो सूचनाअनुसार थोरै मात्र व्यक्तिको सहभागितामा सम्पन्न गरिएको दूतावासले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण फेरि बढेपछि सरकारले भेला, सभा सम्मेलन नगर्न सूचना जारी गरेको थियो । 

 

पाकिस्तानले हरेक वर्षको मार्च २३ मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बनेका हुन् ।

 

सन् १९४० मार्च २४ मा लाहोर प्रस्ताव पारित गरिएको थियो, जसलाई विभाजनपछिको अवस्थामा पाकिस्तानको पहिलो संविधान मानिएको थियो । २३ मार्च १९५६ मा पाकिस्तान विश्वकै पहिलो इस्लामिक गणराज्य बनेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै