Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका लागि यस्ताे छ सरकारकाे बजेट नीति र याेजना

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । 

 

आइतबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा बजेट भाषणमार्फत उक्त बजेट सार्वजनिक गरेका हुन् ।

 

शर्माले शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धबारे गरेका घोषणा यहाँ उल्लेख गरिएको छ – 

 

शान्ति सुरक्षा
–    शान्ति सुरक्षा र कानूनी शासनको प्रत्याभूति गरी मानव अधिकारको संरक्षण गरिनेछ। आवश्यक स्रोत साधन उपलब्ध गराई सुरक्षा निकायको संस्थागत क्षमता विकास गरिनेछ। अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाइनेछ। आधुनिक प्रविधिको प्रयोग गरी सीमा क्षेत्रमा हुने अपराध र अवैध कारोवार नियन्त्रण गरिनेछ । 

 


–    साइबर अपराध नियन्त्रण गर्न कानूनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिनेछ । यस्ता अपराध नियन्त्रणमा संलग्न हुने जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरूको लागि बजेट व्यवस्था गरिएको छ ।

 


–     अध्यागमन सेवालाई अत्याधुनिक एवं डिजिटाइज गरी अन्तर्राष्ट्रियस्तरको बनाइनेछ। सीमा नाकामा रहेका अध्यागमन कार्यालयहरूको भौतिक पूर्वधार सुधार गरिनेछ। नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक विवरणसहितको अभिलेख विद्युतीय प्रणालीमा अद्यावधिक गर्ने र यात्रुको विवरण अग्रिम रूपमा प्राप्त हुने सूचना प्रणाली विकास गरी प्रयोगमा ल्याइनेछ । 

 


–    दुई वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ ।

 


–    आगामी आर्थिक वर्षभित्र थप २० लाख नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ। वैयक्तिक सूचना प्रणालीलाई भरपर्दो र व्यवस्थित बनाउन व्यक्तिगत घटना दर्तालाई विद्यतीय प्रणालीमा आबद्ध गरी सबै वडासम्म विस्तार गरिनेछ ।

 


– निर्माणाधीन केन्द्रीय कारागार नुवाकोट, क्षेत्रीय कारागार बाँके, मोरङ, पाँचथर लगायत दशवटा कारागार भवनहरूको निर्माण गर्न र पुराना कारागार भवनहरूको मर्मत सुधार गर्न रु. ३७ करोड विनियोजन गरिएको छ । खुला कारागार नीति कार्यान्वयन गर्न आवश्यक व्यवस्था गरिनेछ । कारागारमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न आवश्यक व्य वस्था मिलाइनेछ ।

 


–    कैदीबन्दीहरूको स्वास्थ्य उपचारलाई थप व्यवस्थित गर्न स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिनेछ ।

 


राष्ट्रिय सुरक्षा 
– नेपालको अखण्डता एवं राष्ट्रिय सुरक्षाको सम्वर्द्धनका लागि सुरक्षा निकायहरूको दक्षता एवं क्षमता विकास गरी थप व्यावसायिक बनाइनेछ । नेपाली सेनाको क्षमता विकास, पूर्वाधार निर्माण र लजिष्टिकका लागि आवश्यक रकम विनियोजन गरेको छु । बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको छ ।  

 


परराष्ट्र सम्बन्ध 
–    सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र, सन्तुलित र पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्ट्रिय सम्बन्ध सञ्चालन गरिनेछ । 

 


–    नेपालको आर्थिक कूटनीतिलाई वैदेशिक लगानी, निर्यात व्यापार, पर्यटन प्रवर्द्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्तरण जस्ता क्षेत्रमा प्रभावकारी र उद्देश्यमूलक ढङ्गले परिचालन गरिनेछ। बदलिँदो परिवेश र कार्यबोझ विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा विदेशमा रहेका नियोगहरूको संख्या पुनरावलोकन गरिनेछ । नेपाली नियोगको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दूतावासको अवधारणा अन्तर्गत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ । 

 


–    विद्युतीय राहदानी सहज र सरल तवरले उपलब्ध गराउन राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा स्रोतको प्रबन्ध गरिएको छ। कन्सुलर सेवा प्रवाह थप सहज, सरल र प्रभावकारी बनाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै