Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भारतीय महावाणिज्य दूतावासद्वारा लोकतन्त्रमा संविधानको प्रसङ्गका विषयमा छलफल आयोजना

वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

 

छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक्ता रामेश्वर सेढाई, वीरगञ्च कलेजका प्रिन्सिपल विनोद गुप्ता, जिल्ला अदालतका अधिवक्ता पन्नालाल गुप्ता, प्रोफेसर अनिल कुमार सिन्हा, प्रतीक प्रकाशन समूह प्रा. लि. का अध्यक्ष जगदीश शर्मा, भारतीय कन्सुल जनरल नितेश कुमार, वीरगन्जका नागरिक समाजका चुनिंदा सदस्यहरु र वाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

छलफलमा उनीहरुले संविधानका विशेषताहरू जस्तै तटस्थता, समावेशीता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति इत्यादिका विषयमा प्रकाश पारेका थिए । 

 

१२१५ को म्याग्नाकार्टादेखि २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिबिम्बित गर्दै लोकतन्त्रको सफलताको लागि संविधान महत्त्वपूर्ण औजार भएको विवेचना गरिएको थियो । बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने छलफलका सदस्यहरूले धारणा राखे । भारतको संविधानमा जोड दिँदै, छलफलका सदस्यहरूले नेपालले पनि यसबाट केही प्रावधानहरू जस्तै समावेशीकरण, प्रगतिशीलता, जनताको मौलिक अधिकारको सम्मान र न्यायपालिकाको सर्वोच्चता इत्यादि अंगिकार गर्न सक्ने सुझाव दिएका छन्  । 

 

कार्यक्रममा नितेश कुमारले यस विषयमा विभिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद दिँदै संविधानले प्रदान गरेको अधिकारको संरक्षणका साथै नागरिकले कर्तव्यको पालना गर्दै यसमा व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै