
म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । बुधबार म्यानमारको सैन्य सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा राख्न सक्ने संकेत देखाएको हो ।
पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको छ । म्यानमारमा कू गरेपछि सेनाद्वारा निर्मित राजधानी न्यपेतस्थित सेनाको विशेष अदालतले सुकीलाई सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको छ।
सैन्य शासनको अधीनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेतृ सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई नजरबन्दमा राखिएको छ ।
७६ वर्षीया नोबल पुरस्कार विजेता सुकीलाई अन्य थुप्रै फौजदारी अभियोग पनि लगाएको छ । यद्यपि सुकीले सबै आरोप अस्वीकार गरेकी छिन् ।
मानवअधिकारकर्मीले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् ।
पाँच वर्षको थप जेल सजाय तोकिएपछि सुकीले जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको छ । गत डिसेम्बरमा उनलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit