
प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियम सहित पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्थानमा घर भई काठमाडौंको बौद्ध–६ बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ घर भएका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन् ।
कार्यालयको प्रहरीले टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।
बौद्धमा भण्डारण गरिराखेको अवस्थामा उक्त युरेनियम बरामद भएको हो । उनीहरुमाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सरकारले खानी तथा खनिज पदार्थ ऐन २०४५ अनुसार युरेनियमलाई अति महत्वपूर्ण खनिजको रुपमा परिभाषित गरेको छ, जसको अनधिकृत तवरले उत्खननमा रोक लगाइएको छ । यदि त्यस्तो खनिजको उत्पादन, शुद्धीकरण, ढुवानी सञ्चय तथा विक्री वितरण गरेको पाइएकमा एक लाख भन्दा बढी जरिवाना र १ वर्षभन्दा बढी कैद सजायको व्यवस्था गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit