
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति आयतोल्लाह सैयद इब्राहिम राईसीलाई गैरआवासीय राजदूतको ओहोदाको पत्र बुझाएका छन् ।
इरानको राष्ट्रपति भवन तेहरानमा सोमबार आयोजित विशेष समारोहबीच राजदूत अधिकारीले पत्र बुझाएका हुन् । सो क्रममा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।
इरानका राष्ट्रपतिले पनि नेपाली जनताको व्यक्तिगत स्वास्थ्य र सुख शान्तिको कामना गरेका थिए ।
राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैं आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्र संघलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको बताए ।
राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूले इमानदार प्रयास गर्ने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit