
भारतमा १ जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ ।
जीएसटी इन्टेलिजेन्सको टिमले कर छलीको आरोपमा अत्तर व्यवसायी पियुष जैनविरुद्ध अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको रकम बरामद गरिएको हो । जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा बिहिबार र शुक्रबार छापा मारिएको थियो । अन्य स्थानमा पनि पैसा लुकाइएको छ कि भनेर छापा मार्ने काम जारी राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जैन र उनका अन्य २ जना व्यापारिक साझेदारका ११ ठाउँमा छापा मारिएको थियो । उनले विभिन्न कम्पनीमार्फत ३ करोड ९ लाख कर छली भएको खुलेको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन् । उनले विभिन्न बैंकबाट ऋण लिएको विदेशमा समेत ठूलो लगानी गरेको प्रमाण पनि भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी उनको प्रमुख व्यवसाय नै अत्तर उत्पादन रहेका छ । उनले त्रिमूर्ति फ्र्यागनेन्स प्राइभेट लिमिटेडमार्फत शिखर पान मसला पनि उत्पादन गर्दै आएको पनि भारतीय सञ्चार माध्यमले बताएका छन् ।
पश्चिम एसियामा २ सहित उनका करिब ४० कम्पनी रहेका छन् । कर छल्नकै लागि उनले नक्कली कम्पनी खडा गरेको र ती कम्पनीका नाममा बीजक जारी गरेको पनि भेटिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit