
प्रहरी हवल्दार यम कुमार बस्नेत वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत हवल्दार बस्नेतलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले फागुन महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
प्रदेश प्रहरीका निमित्त कार्यालय प्रमुख एसएसपी ध्रुवराज राउतका अनुसार प्रदेशभरमा बस्नेतको कार्यसम्पादन सबैभन्दा अब्बल भएपछि यो पुरस्कार दिइएको हो । प्रदेश प्रहरीले हरेक महिना राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ ।
बस्नेतले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले पुस महिनाको पुरस्कार दिइएको प्रदेश प्रहरीले उल्लेख गरेको छ ।
बस्नेतले गत १३ फागुनमा दोलखा भीमश्वेर नगरपालिका–३ जलदेवी मन्दिर नजिकैको जंगलमा दुवै हात, खुट्टाहरु र अनुहारमा सेतो कपडाको टेपले बाँधिएर मृत अवस्थामा फेला परेका सोही ठाउँका १६ वर्षीय साहिल तामाङको हत्या घटनाको सफल अनुसन्धान गरेका थिए । उक्त घटनामा ३ जना किशोरहरु पक्राउ परेका थिए ।
यस्तै, अवैध काठ तस्करी नियन्त्रण, प्रतिबन्धित सुनाखरी ९६दशमलव ३५० केजी बरामद लगायत अन्य महत्वपूर्ण काम गरेकाले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit