
नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ ।
शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक पिन्ट रगतले ती सुत्केरीको ज्यान बाँचेको हो । जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर दुई दिन अगाडि भर्ना भएकी सरस्वतीले शल्यक्रियाबाट शिशु जन्माएकी छन् ।
सरस्वतीको ‘बी पोजेटिभ’ ब्लड ग्रुप रहेको र बैतडीमा ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो ।
‘शल्यक्रियामार्फत शिशु जन्माउनु भएकी उहाँको शरीरमा रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौैँ, सेनाले दिएको रगतबाट सुत्केरीको ज्यान जोगाउन सफल भयौँ’ उनले भने ।
शल्यक्रियापछि बिरामीलाई डडेल्धुरा अस्पताल रेफर गरिएको र अहिले आमा र शिशुको स्वास्थ्य सुधार हुँदै अस्पतालले जनाएको छ । अस्पतालले रगत आवश्यक भएको खबर गरेकाले तत्कालै रगत दान गरिएको गुल्मपति तथा सेनानी खिलबहादुर रानाले बताए ।
‘अस्पतालले रगत आवश्यक परेमा हामीलाई सधैँ खबर गर्ने गर्दछ, सेनाले दिएको रगतले धेरैको ज्यान जोगिएको छ’ उनले भने ।
बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit