Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपाल-भारत उर्जा सहकार्य बैठकमा यी विषयमा भए सहमति

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

 

 

भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक  फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना गरिएको थियो । उक्त बैठकमा नेपाल भारतबीच उर्जा सहकार्य गर्ने सहमति भएको छ । 

 

 

उक्त बैठकमा दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलार्ई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने निर्णय भएको भारतीय दूतावासले जानकारी दिएको छ ।

 

 

संयुक्त संचालक समिति तथा संयुक्त कार्यदलको बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताएका छन् । साथै नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति जनाएको दूतावासले जनाएको छ । 

 

 

भारतीय पक्षले काठमाडौंमा गरेको न्यानो स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गरेको छ । साथै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय उर्जा क्षमताको स्थापना, “एक राष्ट्र, एक ग्रीड, एक बजार” योजनाका उपलब्धिहरु लगायत पछिल्लो क्रममा भारतको उर्जा क्षेत्रमा भएका विकासबारे जनाकारी गराएको छ ।  त्यसैगरी नेपाली पक्षले पनि भारतीय पक्षलाई उर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य र नेपालमा विद्युत मागको परिदृश्यका बारे जानकारी गराएको दूतावासले जनाएको छ ।

 

 

उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति भएको दूतावासले जानकारी दिएको छ ।

 

 

दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्नेगरी सहमति भएको पनि दूतावासले जानकारी दिएको छ ।

 

 

उक्त बैठक नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारको सह–अध्यक्षतामा सम्पन्न भएको छ ।

 

 

संयुक्त संचालक समितिको बैठक सुरु हुनु अघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै