Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीसँग दूतावासको अन्तरक्रिया

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरबारे भारतीय राजदूतावासले भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

 

भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए । 

 

राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे उल्लेख गरिन् ।

 

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरिन् । यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिइन् । 

 

नेपालमा व्यवसाय क्षेत्रमा सहभागिता जनाउन आग्रह गर्दै सहसचिव शर्माले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए

 

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै