
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताएका छन् ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा र स्वास्थ्यमा सकारात्मक फाइदा लिन सबैमा आग्रह गरे । उनले गुणस्तरीय पठनपाठनलाई निरन्तरता दिँदै विद्यार्थीको नैतिक पक्षलाई सबल बनाउन संस्थानलाई सुझाव पनि दिए ।
प्रधानसेनापति शर्माले कुनै पनि संस्थाको समयानुकूल विकास, सुदृढीकरण र आधुनिकीकरण अपरिहार्य हुने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिकित्सा क्षेत्रमा भइरहेको द्रुत विकास, अनुसन्धान तथा प्रयोगलाई आत्मसाथ गरी संस्थानलाई अगाडि बढाउन आग्रह गरे । आधुनिक प्रणालीको शिक्षण पद्धति अङ्गाल्नेतर्फ संस्थान उम्मुख हुनुपर्नेमा उनको जोड थियो ।
नेपालको समग्र शैक्षिक अवस्थालाई अभिवृद्धि गर्ने पवित्र कार्यमा संस्थानलगायत अन्य शिक्षण संस्थानमार्फत थोरै भए पनि योगदान गर्न पाउनु नेपाली सेनाका लागि गौरवको विषय बनेको उनको भनाइ थियो । उनले भविष्यमा यस्ता शिक्षण कार्यको परिधिलाई फराकिलो पार्दै थप कार्यक्रम ल्याउने कुरामा संस्थानले अझै कोशिष गर्ने अपेक्षा राखे ।
संस्थानले हालको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको चिकित्सका शिक्षा दिनेमा विश्वस्त रहेको शर्माले बताए । उनले गुणस्तरयुक्त मेडिकल शिक्षा दिने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit