Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कपिलवस्तुमा भन्सार छलीको चिनीसहित व्यापारी पक्राउ


कपिलवस्तु प्रहरीले भन्सार छली ल्याएको चिनीसहित चार जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने २५ वर्षीय पंकज गुप्ता, ३६ वर्षीय जवाहर गुप्ता, वाणगंगा नगरपालिका–११ का २८ वर्षीय हीराबहादुर चौधरी र अर्घाखाँची पाणेनी गाउँपालिका–७ का ५५ वर्षीय देवीप्रसाद खनाललाई पक्राउ गरिएको हो ।

 

गुप्ताद्वय कारोबारी हुन् भने चौधरी र खनाल कामदार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरीको संयुक्त टोलीले आइतबार उनीहरुको गोदाममा छापा मार्दा भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याएको चिनी र भुजा भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । 

 

 

एसपी अधिकारीका अनुसार जवाहरको गोदामबाट ५० किलोका २८ बोरा चिनी र ५ बोरा भुजा तथा पंकजको गोदामबाट ४६ बोरा चिनी बरामद भएको छ । लोडका लागि प्रयोग गरिएको लु अ.अम ७०९५ नम्बरको आइचर गाडी पनि बरामद गरिएको छ । 

 

चिनी र  भुजा  दुई लाख नव्बे हजार बराबरको रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि सुठौली भन्सार कार्यालयमा पठाइएको एसपी अधिकारीले जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै