
काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख अशोक सिंहका अनुसार नियमित चेकजाँचका लागि मंगलबार राती क्यासिनो पुगेको प्रहरी टोलीले जाँचगर्दा त्यहाँ रहेका तीन बंगलादेशीको भिषा अवधि सकिएको भेटिएको हो ।
एसएसपी सिंहले गृह मन्त्रालयको रणनीति अनुसार अध्यागमन कानूनको पालना र त्यसको निगरानीका लागि प्रहरीले समय–समयमा सम्भावित स्थानहरुमा चेकजाँच गर्ने गरेको बताए ।
‘नेपालमा ओभर स्टे रहेका तीनजना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको छ,’ एसएसपी सिंहले भने ।
परिसरका अनुसार पक्राउ पर्नेमा वर्ष २४ का महवुन हुसेन, वर्ष ५३ का अव्दुम आलम , वर्ष ५३ असगर अलि रहेका छन् ।
अध्यागमन विभागले तीनैजनाका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । विभागका अनुसार उनीहरु आफ्नो भिषा अवधिभन्दा ४३ दिन बढी नेपाल बसेको भेटिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit