Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठीको समापन 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को बिहीबार समापन गरेका छन् । 

 


त्यस अवसरमा महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, सो प्रतिष्ठान तथा तालिम शिक्षालयको विशेष भूमिका रहने उल्लेख गर्दै सो प्रतिष्ठानले तालिम शिक्षालयमा संचालन गर्ने तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । 

 


उनले पहिलोपटक आयोजित सो गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्दै निकट भविष्यमा संचालन हुने वरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिमसम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताएका थिए । 

 


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षकहरुको मनोवल उच्च राख्न उनीहरुको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्दै उच्च मनोबल बनाई सकारात्मक सोचका साथ सबैले आ–आफ्नो ठाउँबाट सांगठनिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

 


हाल सञ्चालन भइरहेका तालिम, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीहरुको व्यवस्थापन, तालिममा प्रशिक्षण गराइने विषयहरु, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयहरुको विशिष्टीकरण तथा स्तरोन्नति, उपलब्ध भौतिक पूर्वाधारको दिगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्य समयानुकूल, वैज्ञानिक र व्यावहारिक बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा सहभागि समादेशकबाट प्रस्तुतीकरण भएका विषयमा छलफल र अन्तरक्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो ।  

 


महानिरीक्षक अर्यालले उक्त प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ ईन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यावसायिक भई परिचालित हुन निर्देशन दिएका थिए ।  

 


८ सातासम्म चलेको उक्त तालिम २६ जना सिनियर अधिकृतले सफलतापूर्वक सम्पन्न गरेका छन् । 

 


समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयका समादेशक तथा प्रतिनिधिको उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

प्रहरीले घटनास्थल सुरक्षित राखे, जम्बोले पत्ता लगायो हत्यारा 

‘घटनास्थल मुचुल्का अघि तालिमप्राप्त कुकुरको प्रयोगगर्ने निर्णय भयो,’ एसपी अधिकारीले पर्दाफाससँग भने, ‘तर हत्यामा संलग्नले सीमा काटने आशंका पनि थियो, नाकामा कडिकडाउ पनि सँ...

असार ९, २०७९