
६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी गौतमले अभियानको घोषणा गरेका हुन् ।
पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने उनले प्रतिबद्धता व्यक्त गरे । शीर्ष नेताहरु विभाजित भए पनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै गौतमले उनीहरुलाई संयोजन गरेर अघि बढ्ने बताए ।
‘पार्टी पुनः एकीकरणको हाम्रो अभियान अहिले दुई चरणको हुनेछ । पहिलो चरण सर्वोच्चको निर्णय अनाउँदासम्मको, दोस्रो चरण अदालतको निर्णयपछि’ उनले जारी गरेको अवधारणापत्रमा भनिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे पनि आफूहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उनको भनाइ छ । प्रतिनिधि सभा पुनःस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्री धारणा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रहेको बताए ।
‘मेरो भित्री चाहना प्रतिनिधि सभा पुनःस्थापना नै हो,’ गौतमले भने, ‘तर सर्वोच्चले जे निर्णय गर्छ त्यही मान्नुपर्छ । सर्वोच्चले निर्वाचन भन्यो भने निर्वाचनमा जानुपर्छ तर भोट नेकपालाई नै दिनुपर्छ ।’
‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।
उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबरी भूमिका रहेको धारणा राखे । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष दाहाललाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमतिअनुसार आलोपालो प्रधानमन्त्री दाहालले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।
‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ गौतमले भने ।
उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने सन्देश गएको भन्दै आफूहरुले अर्को पार्टी नबनाएको स्पष्ट पारे । सर्वोच्चमा परेको मुद्दा फैसला हुनेबित्तिकै ओली र दाहाल पक्षका नेताहरुपनि आफूहरुसँग मिसिन आउने उनको दाबी छ ।
यसरी सम्भव हुनेछ पार्टी एकता, हेर्नुहाेस भिडियाेः
भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit