Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भारतीय दूतावासको आयोजनामा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ

काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबारदेखि अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । 

 

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कन्क्लेभको आयोजना गरिएको हो । यसै महोत्सवअन्तर्गत वैशाखको ५ देखि ७ गतेसम्म पहिलो पटक ‘इन्डिया एट७५ आइडियाथन’ को आयोजना गरिँदै छ । 

 

यो कक्क्लेभ २०२२ को फेब्रुवरीको पहिलो सातामा गर्ने तय भएको थियो तर कोरोना महामारीका मार्चमा सारिएको हो । कार्यक्रमको सह–आयोजकमा क्लकबी बिजनेस इन्नोभेसन्स छ भने अन्य साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन् । 

 

यसका अघिल्ला दुई संस्करणहरुमा कनेक्ट (इन) ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो । 

 

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको छ ।

 

हालको संस्करणमा कनेक्ट (इन) ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका संघर्षको कथालाई समावेश गरेको छ । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो तथा तथ्यांक विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी इलुसिडाटा छन् । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप तथा ई–कमर्श पोर्टल सस्तो डिल छन् । 

 

कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चारणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागता व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत छलफल गरिने दूतावासले जनाएको छ । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रित रही काम गर्ने  लगानीकर्ता कम्पनी यात्रा एन्जल नेटवर्क र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी क्रेडिन्स सहभागी हुनेछन् । 

 

दूतावासका अनुसार नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुले पनि बोल्नेछन् । 

 

कन्क्लेभका लागि सन् २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को संचालन गरिएको थियो । क्याम्पको संचालनपछि ८० जना युवा उद्यमीहरुले निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनोट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो । 

 

प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत रहेको दूतावासले जनाएको छ । गत मार्चमा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् । 

 

आइडियाथनमा दैनिक जीवनलाई प्रभाव पार्नेे तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्घ प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने उद्देश्य राखिएको छ । 

 

अन्तरदेशीय वाणिज्य, कृषिबजार, शहरी विकास र सुशासन चुनौती तोकिएको छ । यसमा काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु सहभागीका रुपमा रहने दूतावासले जनाएको छ । 

 

तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिहरुको एक निर्णायक मण्डलले विजेता टोली चयन गरी अवार्ड घोषणा गर्ने दूतावासले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै