Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अखाद्य वस्तु उत्पादन र बिक्री गर्ने ललितपुरका २ कम्पनी स्पर्श र श्रीतारा फुड्स सिल

तस्बिर : महानगरीय अपराध महाशाखा

अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गर्ने २ कम्पनीलाई प्रहरीले सिल गरेको छ ।

 

 

सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका १ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखटमा संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि’ लाई अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको अभियोगमा सोमबार प्रहरीले सिल गरेको छ ।

 

 

ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य वस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने  सूचनाको आधारमा उक्त २ कम्पनीमा प्रहरी छानबिन गरेको थियो ।

 

 

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको विशेष टोलीले खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलको माहतहमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरी कम्पनीहरू सिल गरेको हो ।

 

 

प्रहरीका अनुसार दुबै कम्पनीले खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरुलाई पुनः प्रयोगमा ल्याई बिक्री वितरण गर्दै आएको खुल्न आएको छ ।

 

 

यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै