Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काभ्रेको सुनकोशी किनारामा लुगा छोडेर पुरुष र महिला बेपत्ता

फाइल तस्बिर

काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । 

 

 

एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

 

कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् । 

 

 

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन् । 

 

 

परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी  छ । 

 

 

‘उनीहरु शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ’ प्रहरी उपरीक्षक खतिवडाले बताएका छन् । 

 

 

बेपत्ता भएका दुबैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन  प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै