
गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् । उनले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन लोहनी मनाङ आएका हुन् । विकट तथा संवेदनशील क्षेत्रमा शान्त र सुरक्षित तवरबाट मतदान गराउन उनले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका २८ मतदानस्थललाई तीन तहमा बाँडिएको छ ।
पाँच मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको आचार्यले बताए । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, सामाजिक संरचनालगायत आधारमा पाँच मतदानस्थललाई अतिसंवेदनशिलमा राखिएको उनले बताए । १५ मतदानस्थललाई संवेदनशील तथा आठ मतदानस्थललाई सामान्यमा राखिएको छ ।
अतिसंवेदनशिल र संवेदनशीलरुपमा वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ आचार्यले बताए । सोहीअनुसार स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षितरुपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध मिलाइएको आचार्यले बताए ।
मनाङमा २८ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार ४९६ मतदाता छन् । पुरुष तीन हजार १४८ र महिला मतदाताको संख्या तीन हजार ३४८ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit