
पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प्रत्यासी प्रमाेदकुमार सिन्हासँग जाेडिएकाे छ।
एसपी गंगा पन्तले आफ्नै नेतृत्वमा छापा मारेकाे अपार्टमेन्ट उम्मेद्वार रहेका प्रमाेदका भाइ अशाेकले छाेरी निवेदिका सिन्हाका नाममा राखेका थिए । भन्सार एजेन्ट अशाेकले याे खेप सुन दाईकाे निर्वाचन खर्चका लागि ल्याएकाे रक्साैलस्थित स्राेतकाे दाबी छ।
अशाेक लामाे समयदेखि तस्करीमा संलग्न रहेपनि दाजुकाे राजनीतिक प्रभावका कारण पक्राउ पर्न सकेका छैनन् । यसपटक पनि उनकै बिराेधीकाे सूचना र नेपाल प्रहरीका तल्लाे तहका अधिकारीबिच कुरा नमिल्दा सुन बरामद भएकाे स्राेतले जनाएकाे छ।
हाम्रा रक्साैलस्थित सूचनादाताका अनुसार ४ भाइले कानूनी रूपमा भागबण्डा गरेपनि एकअर्कासँग निकट र सहयाेगी भुमिकामा थिए। चारमध्ये एकजनाकाे केही समय अघि मृत्यु भएकाे थियाे । उनी पनि राजनीतिमै सक्रिय थिए।
पर्सा प्रहरीले थप अनुसन्धानका लागि सुन राजस्व अनुसन्धान कार्यालयमा बुझाएकाे छ। अठार करोड पैसठ्ठी लाख रूपैयाँ सुन र गरगहनाकाे मूल्य कायम गरिएकाे छ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit