
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो ।
हाल इस्लामावादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए । उनले भने, ‘हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने बताए ।’
हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरुले काम गरेको धारणा उनले राखे । उनले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताए ।
यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए । ‘अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको छ,’ उनले भने ।
यहाँको आर्थिक अवस्था झन् नाजुक भएको र आर्थिक संकट आइसकेको जानकारी उनले दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit