Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चीनको अवैध बजार पुर्‍याउन नेपालमा मारिँदै सयौं सुन्दर सालक

गत बिहीबार रामेछापको मन्थली नगरपालिका–१ देवकोटा चोकबाट प्रहरीले २५ केजी सालकको खपटासहित २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङ छन् । 

 

ठूलो मात्रामा सालकको खपटा बरामद भएपछि अहिले प्रहरी, वनका अधिकारीदेखि संरक्षणकर्मीहरु नै झस्किएका छन् । हालसम्म ससानो परिमाणमा सालकको तस्करी हुने गरेको पाइए पनि यो हालसम्मकै ठूलो परिमाण हो । 

 

उक्त खपटाका लागि करिब ७० देखि ८० वटा सालक मानुपर्ने वनका अधिकारीहरु बताउँछन् । तस्करीमा संलग्न व्यक्तिहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरूले लामो समयदेखि सुकाएर भण्डारण गरिराखेको सालकको खपटा बेच्न ग्राहक खोजिरहेका थिए ।

 

सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार तथ्यांकमा हेर्दा यो हालसम्मकै ठूलो मात्रामा बरामद भएको हो । ‘सम्भवतः नेपाली सालकको खपटाको अहिलेसम्मकै बढी बरामद भएको हो, किनकि हाम्रो रेकर्डमा यो भन्दा बढी देखिन्न,’ उनले भने । 

 

पक्राउ परेकाहरुलाई थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको महतोले बताए । वन कार्यालयका अनुसार रामेछापमै उक्त सालक मारिएको आशंका गरिएको छ ।

 

यसअघि विदेशी नागरिकले ल्याएको एक सय ६२ किलो खपटा बरामद गरिएको थियो । तर नेपाली सालक थिएन । हालको परिमाणले भने नेपालमा सालक तस्करी भयावह बन्दै गएको संकेत गरेको छ । 

 

उनीहरूले सो खपटा कहाँ र कसरी ल्याएको तथा कसलाई बेच्न खोजिरहेको भन्ने बारेमा अदालतबाट म्याद थप गरेर बयान लिन लागिएको डिभिजन वन कार्यालय रामेछापका अनुसन्धान अधिकृत युगल किशोरले पर्दाफासलाई बताए ।

 

कस्तो जीव हो ?
 

दुर्लभ एवं संरक्षित जीव सालक लजालु स्तनधारी जन्तु हो । सालकलाई किसानको साथी पनि मानिन्छ । यसले मानिसलाई हानि गर्दैन । कीरा र कमिलालाई आहारा बनाउँछ । 

 

विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन् । यसमा चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ । नेपालका ६२ वटा जिल्लाहरुमा सालक पाइन्छ ।

 

सन् २०११ को वन्यजन्तु जनगणना अनुसार नेपालमा सालकको संख्या ५ हजारको हाराहारीमा पाइएको थियो । विश्वभर सालकको तस्करी बढेपछि साइटिस अभिसन्धिले अतिसंकटापन्न वन्यजन्तुको अनुसूची २ बाट १ मा राखेको छ । 

 

कहाँ पाइन्छ ? 
 

एक वेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको मृत्यु दर करिब ७० प्रतिशत रहेको छ । अर्थात् जन्मिएका बच्चाहरूमा ३० प्रतिशत बच्चा मात्र बाँच्ने भएकोले प्राकृतिक रूपमै यसको संख्या कमी हुँदै गइरहेको विज्ञहरू बताउँछन् ।

 

नेपालमा समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ । सालकको दांँत हुँदैन र यसको जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्दछ । यसको रंग माटोसँग मिल्दोजुल्दो हुन्छ । 

 

कतैबाट आक्रमण भयो भने यो भाग्दैन तर डल्लो भएर बस्दछ । कसैलाई आक्रमण नगर्ने, भाग्न नसक्ने, सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुने भएकोले तस्करहरूले सालकलाई सजिलै समाउन सक्ने विज्ञ बताउँछन् ।

 

विश्वमा ८ प्रजातीको सालक पाईन्छ ति मध्ये दुई प्रजातीको सालक नेपालमा पाईन्छ । नेपालमा चीनीया सालक र ईन्डियन सालक पाईने गरेको छ । 

 

तराई र पश्चिमी भूभागमा ईन्डियन सालक पाइने गरेको छ भने २ हजार ५ सय मिटर उचाइसम्मको क्षेत्रमा चिनियाँ सालक पाइने गरेको छ । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले कालो सालकलाई जोखिमपूर्ण र तामे सालकलाई खतरायुक्त सूचीमा राखेको छ ।

 

किन र कहाँ हुन्छ तस्करी ?
 

विभिन्न अध्ययनले नेपाललगायत देशबाट सालकको तस्करी चीनमा हुने गरेको देखिएको छ । चीनले ठूलो परिमाणमा सालक अवैध रुपमा आयात गर्दै आएको छ । 

 

चिनियाँहरुले विशेष गरी एक प्रकारको औषधि बनाउनका लागि सालकको खपटा प्रयोग गर्दै आएका छन् । त्यस्तो सोख र सजावटका लागि पनि यस्तो खपटा चिनियाँहरुले प्रयोग गर्दै आएका छन् । 

 

सन् २०१५ मा गरिएको एक अध्ययनका अनुसार वर्षमा १ लाख सालकको खपत चिनियाँ बजारमा हुने गरेको छ । त्यसमा ५० हजार चीनमै उत्पादन भई वैध रुपमा बजारमा पुग्ने गरेको छ । त्यसबाहेक बाँकी ५० हजार भने एसिया तथा अफ्रिका लगायत महादेशका मुलुकहरुबाट तस्करी हुने गरेको छ । 
नेपालमा तस्करीका कारण सालकको संख्या बर्सेनि घट्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाखदेखि १० लाखसम्म जरिवाना, ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै हुनसक्ने कानुनी प्रावधान छ ।

 

कसरी जोगाउने ?
 

नेपालबाट पनि चीनतर्फ सालक तस्करी ठूलो टाउको दुखाइको विषय बन्दै आएको छ । प्रहरी अनुसन्धानका अनुसार यसको तस्करीमा विभिन्न तह हुने गरेको छ । पहिलो तहमा शिकार गर्ने व्यक्ति हुने । त्यस्ता व्यक्तिले संकलनकर्ता बीचका व्यक्तिलाई विक्री गर्ने गर्छन् । 

 

संकलनकर्ताले मुख्य नाइकेलाई बिक्री गर्छन्, जसले चीन निकासीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । तीन तहको यो लेयरमा धेरैजसो बीचका व्यक्तिहरु मात्र पक्राउ पर्ने गरेका छन् । 

 

त्यसकारण मुख्य नाइके पक्राउ नपर्दा यसको र्याकेट भत्काउन नसकिएको प्रहरी अधिकारीहरु नै बताउँछन् । बीचका व्यक्तिलाई पनि मुख्य नाइकेको बारेमा त्यति थाहा नहुँदा प्रहरीलाई अनुसन्धानमा अप्ठयारो पर्दै आएको छ । 

 

विज्ञ तथा संरक्षणकर्मी भने कूटनीतिक रुपमा नै यस्तो तस्करी रोक्न प्रयास गर्नुपर्ने बताउँछन् । चीनमा प्रयोग भइरहेसम्म तस्करी नरोकिने भन्दै यस्तो तस्करीको जालो भत्काउन नेपालले विशेष अपरेसन नै सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै