
कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन् । उनीहरूको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु नगरपालिका-११ जहदी चोकबाट 'मेड इन युएसए' लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्ड सहित सोही ठाउँ बस्ने ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
युपि ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit