
कलाकार पल शाहलाई बलात्कार आरोप लगाउँदै अदालत गएकी बालिकाले बयान फेरेपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
तनहुँ जिल्ला अदालतमा आइतबार भएको बालिकाको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । उनले अरुको दबाब र प्रभावमा परेर त्यस्तो जाहेरी दिएको जनाएकी छन् ।
अदालतमा बालिकाले दिएको बयानले एकातर्फ उनी ‘होस्टाइल’ भएको हुनसक्ने देखिएको छ भने अर्कोतर्फ उनीमाथि नै कानुनी कारबाही सम्भावना पनि बढेको छ । अदालतले प्रहरीबाट आएको बयानलाई प्रमाण नमान्ने भएकाले पनि बालिकाले अहिले दिएको बकपत्र अहम् बनेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत ११ फागुनमा जाहेरी दर्ता गराएका थिए । केही दिन फरार भएका शाह १५ फागुनमा प्रहरीको सम्पर्कमा आएका थिए ।
किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो । उच्च अदालतले पेशी तोकिसकेको छैन ।
होस्टाइल हुनु भनेको के हो ?
होस्टाइल हुनु भएको पहिले दाबी गरेभन्दा पीडितले फरक बयान दिनु हो । पीडितले अदालतमा जाहेरी तथा प्रहरीमा गरेको कागजलाई पुष्टि गर्ने बकपत्र गर्नुको साटो झूठो ठहरिने गरी बयान दिनुलाई होस्टाइल भनिन्छ ।
यस्तो हुनुमा विभिन्न कारण हुन सक्छन्, जस्तैः पीडितमाथि दबाब, प्रभाव वा प्रलोभन । यसरी पीडकलाई सहयोग पुग्ने गरी बयान दिँदा पछि पीडित आफैलाई कानुनी कारबाही हुने सम्भावन हुन्छ ।
शाहमाथि होला कारबाही ?
पीडितले बयान बदलेसँगै अब अभियुक्त शाहमाथि कारबाही होला त भन्ने आशंका जन्माएको छ । तथ्य र प्रमाणबाट पुष्टि हुने अन्य आधार नदेखिएको अवस्थामा पीडित पक्षले बयान फेरेमा अदालतले आरोपितलाई सफाइ दिने सम्भावना धेरै हुन्छ । यसअघि पनि पीडितले बयान फेर्दा बलात्कारलगायत घटनामा आरोपित उम्किएका थुप्रै नजिर पनि छन् ।
बालिकाले मात्र नभई, उनका बुबाले पनि होस्टाइल बकपत्र गरेको बालिकाका एक अधिवक्ता जानकारी दएि । बलात्कार नभएको तर दबाब र प्रभावमा परी जाहेरी दिएको भन्दै एकै मिलानको बयान गरेका छन् ।
तर, कानुनी व्यवसायीहरु भने पीडितले बयान फेर्दैमा अभियुक्त शाहले उन्मुक्ति पाउन सहज नहुने बताउँछन् । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरेको छ ।
१८ वर्षमुनिका बालिकासँग सहमतिमै सम्बन्ध राख्दा पनि बलात्कारसरह हुने कानुनी व्यवस्था छ । १८ वर्षमाथिको पीडित भएको अवस्थामा उसको बयानलाई मुख्य आधार मानिने भए पनि नाबालिकाको हकमा अदालतले अन्य प्रमाणसमेत हेर्ने गर्दछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit