
प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले वडा अध्यक्ष थारुसहित अन्य तीनजनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् ।
एसपी अधिकारीका अनुसार थारुसहित सुरज थारु, ध्रुव थारु र सुन्दर थारुलाई इप्रका कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालको टोलीले पक्राउ गरेको हो ।
‘उहाँ आफै लागूऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसपी अधिकारीले मंगलबार पर्दाफाससँग भने, ‘३१० मिलिग्राम खैरो हेरोइन बरामद भएको इप्रकाले जानकारी गराएको छ । ’
वडा अध्यक्ष थारु सरकारी मोटरसाईकल चढेर बैजनाथ गाउँपालिकाबाट सोमबार लागूऔषध सेवनका लागि कोहलपुर आएका बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit