Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपाल प्रहरीमा ३ एआईजी थप्ने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ।

 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको ओएण्डएम स्वीकृत गरेको हो । यसअघि प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाण समक्ष प्रस्तुत गरिएकाे थियाे । गृहमन्त्री खाणले टिप्पणी सदर गरेर मन्त्रिपरिषदमा पेस गर्न निर्देशन दिएका थिए । आज पेस हुने बित्तिकै मन्त्रिपरिषद् बैठकले त्यसलाई स्वीकृत गरेकाे हाे ।

 

थपिन लागेको एआईजी दरबन्दीमा प्रहरीका डीआइजीहरु दिवेश लोहनी,  धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, अरुण बिसी, वसन्त पन्त, रविन्द्र धानुक, गणेशबहादुर ऐर, ईश्वरबाबु कार्की, वसन्त लामा, घनश्याम अर्यालयलगायत बढुवाका प्रमुख दावेदार छन् ।

 

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गृह मन्त्रालयमा पेस गरेको थियो । 

 

प्रहरीको विशिष्टकृत अनुसन्धान इकाइका रुपमा स्थापना भएको ब्यूरोमा नायब महानिरीक्षक (निर्देशक) प्रमुख रहने व्यवस्था केन्द्रीय अनुसन्धान व्यूरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७० मा छ । अब ब्यूरोमा एआइजीको दरबन्दी थपिएसँगै निर्देशकलाई महानिर्देशक बनाउनु पर्नेछ । 

 

यस्तै प्रदेश प्रहरी समन्वय डेस्कका लागि भन्दै एआईजी पद माग गरिएको छ । प्रदेशमा समेत एआईजी नहुँदा प्रदेश सरकार र सुरक्षा निकायसँग समन्वयमा कठिनाइ भइरहेको भन्ने गुनासोका बीच यो पद सृजना गर्न लागिएको हो । सातवटै प्रदेशमा यसअघि एआइजीको दरबन्दी रहेकोमा गृहमन्त्री रामबहादुर थापाको कार्यकालमा त्यो काटिएको थियो । 

 

यस्तै उनकै कार्यकालमा प्रहरीको प्रशासन विभाग र मानवस्रोतलाई गाभिएकोमा अब फुटाएर प्रशासन र मानव स्रोत दुई विभागमा एआईजी राख्ने तयारी सरकारले गरेको हो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै