Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कांग्रेसको महामन्त्रीमा थापा र शर्मा निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भएको मतगणनामा महामन्त्री पदमा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

 

कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि भएको निर्वाचनमा थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ र शर्माले १९८४ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । थापाले खसेको मतको ६४ प्रतिशत मत प्राप्त गरेका छन् । उनले ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । 

 

यसैगरी थापा र शर्मा दुबै जना पहिलो पटक महामन्त्री भएका हुन् । १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री लडेका थापा उक्त महाधिवेशनमा पराजित भएका थिए । यस पटक थापाले डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका थिए । त्यस्तै, शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थिए ।

 

महामन्त्रीका अन्यप्रत्याशीहरु प्रकाशशरण महतले १५५०, प्रदीप पौडेलले १४०९, डा.मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाएका छन् । 

 

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पद र उपसभापति पदको मतगणना भएर सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका थिए । त्यस्तै, उपसभापतिमा नेताद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ निवार्चित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै