Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतीय दूतावासले पाक्षिक हिन्दी उत्सव मनाउँदै

नेपालस्थित भारतीय राजदूतावासले २९ भदौदेखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रम सुरु गरेको छ ।

 

मंगलबार आयोजित ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रम आरम्भ भएको हो । यस पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाइने दूतावासले जनाएको छ ।

 

वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञ सहभागी थिए । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

 

भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा पनि वेबिनारमा सहभागी थिए । नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा. संजीता बर्मा र साहित्यकार डा. राम दयाल राकेश उपस्थि थिए ।

 

वेबिनारका सहभागीले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे धारणा राखेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । 

 

सोही अवसरमा भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो । 

 

पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिता आयोजना गर्नेछ । दूतावासमा कार्यरत भारतीय अधिकारीले ‘राजभाषा प्रतिज्ञा’ लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए । 

 

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै