Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

मनाङमा मनसुनको कहर : दुईं बजार डुबानमा, एक हजार बढी प्रभावित (भिडियो)

मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ ।

 

मनाङको चामे बजार र तालगाउँमा बाढीले झण्डै एक दर्जन घरमा क्षति पुगेको छ । त्यस्तै दर्जनौँ घर डुवानमा भएको र सो क्षेत्रमा जोखिममा रहेका गरी तीन सय बढी मानिसलाई सुरक्षित ठाउँँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । एक हजार भन्दा बढी मानिसहरु प्रभावित बनेका छन् । 

 

बाढी पहिरोबाट प्रभावित भएकालाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी गरिएको छ । 

 

तीन दिनदेखिको अबिरल वर्षाका कारण मनाङ जिल्ला प्रभावित बनेको हो । चामे बजार जोखिममा परेको छ भने ताल बजार डुबानमा छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको 'रेस्पोन्स' टोलीद्धारा उद्धार कार्य जारी रहेको छ । पानी परिरहेका कारण उद्धार कार्यमा कठीनाई भएको छ । 

 

यस्तै पछिल्लो चौविस घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा कास्की, म्याग्दीलगायत आसपासका जिल्लामा भारी बर्षा भएको अभिलेख छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ । 

 

नारायणी, कालीगण्डकी, भेरी, र यसका सहायक नदी, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका सहायक नदी र जलाधार क्षेत्रमा बहाब बढेको छ ।  वर्षाका कारण लम्जुङ कास्की, पर्वत, गोरखा, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, मुस्ताङमा प्रभाव पारेको छ ।

 

बाढीले ठाउँठाउँका सडक भत्किएर क्षति पुर्याएको छ । कतिपय ठाउँ डुवानमा परेका छन् । केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

 

यसपाली सरदर भन्दा बढी नै पानी पर्ने आंकलन गरिएकाले पनि बाढी पहिरोको जोखिम विगतको भन्दा बढी नै छ । प्राधिकरणले बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान सार्वजनिक गरिरकेको छ । सोही अनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको प्राधिकृणका प्रमुख अनिल पोखरेल बताए ।

 

हाल भारतको झारखण्डमा रहेको न्युन चापीय क्षेत्र र मनसुन न्युन चापीय प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको छ । वर्षाले बेनी–जोमसोम सडकमा  क्षति पुगेको छ । मनाङको चामे गाउँपालिकाका विभिन खोलामा बाढी आएको छ । अविरल वर्षाले उद्धारमा कठिनाई भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै